काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले प्रधानन्यायाधीश र प्रधानसेनापतिबीचको भेटघाट औपचारिक भएको र सर्वोच्च अदालतले भवन बनाउन लागेको जग्गाको विषयमा सम्बन्धित भएको बताए ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन्, ‘भेटका उद्देश्य प्रस्ट छन् । सर्वोच्चको नयाँ भवन बन्ने जग्गाका सम्बन्धमा छलफल भएको हो । सेनाको क्याबलरी रहेको ३७ रोपनी जग्गामध्ये नौ रोपनी जग्गा सर्वोच्चबाट हामीसँग माग भएको हो । त्यसमा कम्प्लेक्स बन्ने विषय सार्वजनिक नै छ । यही जग्गा हस्तान्तरण गर्न चिफ सा’ब सोमबार सर्वोच्च पुग्नुभएको हो ।’ तर, उनले थप विषयमा बोल्न आवश्यक नभएको प्रतिक्रिया दिए ।
क्याबलरीको जग्गा सर्वोच्चलाई हस्तान्तरण गर्ने विषयमा छलफल भएको भन्ने विषयमा प्रशस्तै प्रश्न छन् । किनकि सर्वोच्च अदालतको पछाडिपट्टि सेनाको क्याबलरी राखिएको साढे ३७ रोपनीमध्ये नौ रोपनी जग्गा सर्वोच्चलाई दिने भन्ने विषयमा अहिले छलफलको सान्दर्भिकता नै छैन ।
क्याबलरीको जग्गा सर्वोच्चलाई दिने र त्यहाँबाट क्याबलरी हटाउने विषयमा सेनाले अहिले होइन, तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङकै पालामा निर्णय गरेको हो ।
तर, यसको अन्तिम निर्णय गर्ने अधिकार नेपाल सरकारको हो । सरकारले पनि अहिले होइन, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै पालामा यो विषय टुंग्याएको हो । नयाँ पत्रकाबाट