बैतडी, ३० माघ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बित्दा पनि प्रहरीले हत्याराको सुइँको पाउन सकेको छैन । हत्यामा संलग्नहरूलाई कारबाहीको माग गर्दै गाउँबाट सुरु भएको आन्दोलनमा अब सिंगो जिल्ला नै उत्रिएको छ ।
स्रोतका अनुसार आठौँ दिनसम्म आइपुग्दा जिल्लाभित्र तीन र जिल्लाबाहिर दुईजनालाई प्रहरीले विशेष निगरानीमा राखेको छ । भागरथीसँगको फोन सम्पर्क, घटनाको दिन गाउँ छोडेका र यसअघिका ‘क्राइम हिस्ट्री’ देखिएका व्यक्तिहरूमा अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले बताएको छ ।
स्थानीय सनातन माविमा १२ कक्षामा पढ्ने भागरथीको गत २१ माघमा विद्यालयबाट फर्किने क्रममा बलात्कारपछि हत्या भएको थियो । उनको स्तनमा टोकेको घाउ देखिएकाले त्यो भागको नमुनासमेत संकलन गरेर प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ भने भजाइनल स्वाब प्रयोगशाला पठाइसकिएको छ ।
चर्किँदै विद्यार्थी आन्दोलन
भागरथीको बलात्कारपछि हत्यामा संलग्नहरूलाई कारबाहीको माग गर्दै बैतडीमा आन्दोलन चर्किएको छ । बिहीबार सदरमुकाम गोठालापानीमा विद्यार्थीले बृहत् प्रदर्शन गरेका छन् ।
विभिन्न विद्यालय र जगन्नाथ बहुमुखी क्याम्पसका विद्यार्थीले शाहिलेक र गोठालापानी बजार हुँदै गढीस्थित जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर दुई घन्टासम्म नाराबाजी गरेका छन् । भागरथीको जस्तो नियति अन्त्य गर्न बलात्कारीहरूलाई फाँसीको सजाय हुनुपर्ने उनीहरूको माग छ । ‘हामीले छोरीहरू निकै असुरक्षित भएको महसुस गरेका छौँ,’ भागरथी हत्याविरुद्धको आन्दोलनकी अगुवा निशा भट्टले भनिन्, ‘हत्यारा पक्राउ नपर्दासम्म आन्दोलन रोकिँदैन ।’ नयाँ पत्रिकाबाट