बैतडी, २८ माघ । बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या भएको ६ दिन बितिसकेको छ । तर, हत्या अनुसन्धानमा जुटेको प्रहरी भने अझै अलमलमै देखिएको छ ।
घटना दिउँसो भयो वा राति, सामूहिक बलात्कार हो वा होइन भन्ने जवाफ दिन सक्ने अवस्थामा प्रहरी छैन । हत्यामा संलग्न अपरिचित व्यक्तिभन्दा परिचितबाटै भएको सम्भावना बढी भएको बताइए पनि यकिन भने हुन सकेको छैन । त्यस्तै, शव फेला परेको ठाउँ नै प्रथम घटनास्थल हो वा होइन भन्ने सवालमा पनि प्रहरी अलमलमै छ ।
प्रहरी अनुसन्धानले गति लिन नसकेको स्थानीयको गुनासो गर्न थालेको छन् । यता प्रहरीले भने स्थानीय बासिन्दाबाट पर्याप्त सूचना नआउँदा अनुसन्धानमा केही ढिलाइ भएको बताउँछ । ‘स्थानीयलाई जुनसुकै कुरा सोध्दा पनि थाहा छैन मात्रै भन्दै आएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘विद्यालयदेखि घटनास्थलसम्मको रुटमा पर्ने बस्तीहरूबाट काम लाग्ने सूचना मिल्न सकेको छैन ।’
स्थानीय सहयोग समिति गठन गरेर सघाउन आग्रह
हत्या विषयमा स्थानीय बोल्न डराएको विषय बाहिरिएपछि प्रहरीले स्थानीय सहयोग समिति गठन गरेर सघाउन आग्रह गरेको छ । टोल–टोलमा अगुवा व्यक्तिहरूको समूह बनाएर प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । ‘अनुसन्धानमा स्थानीयहरूले जति सक्रिय भएर सहयोग गरे, त्यति नै सहज हुन्छ,’ उनले भने । भागरथी पढ्ने धर्मघर माविदेखि घटनास्थल लवलेक जंगलको बीचमा खोचलेक, सिल्ल, चडेपानीलगायतका बस्ती छन् । भागरथीको गाउँ चडेपानीमा भने सुरुमा डराएका स्थानीयहरू पछिल्ला दिनमा खुल्दै आएको स्थानीय शिवराज भट्टले बताए ।
भागरथी हत्या प्रकरण निर्मला प्रकरणजस्तो नहुने प्रहरीको दाबी छ । ‘प्रहरीले तुरुन्तै घटनास्थल सिल गरेर धेरैजसो प्रमाण सुरक्षित गरेको छ,’ अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक नारायण अधिकारी भन्छन्, ‘केही समय लाग्न सक्छ, निर्मला प्रकरणजस्तो हुँदैन ।’ घटनास्थलबाट फेला परेको भागरथीको मोबाइल र उनको फेसबुक एकाउन्टबाट समेत हालसम्म पर्याप्त सूचना नमिलेको प्रहरीले स्रोतले जनाएको छ । भागरथीले दुईवटा नेपाली सिम र एउटा भारतीय सिमकार्ड प्रयोग गर्ने गरेको खुलेको छ । त्यस्तै, उनका दुईवटा फेसबुक एकाउन्टसमेत रहेको देखिएको छ । मोबाइल र सामाजिक सञ्जाललाई आधार बनाएर अनुसन्धानक्रम भने जारी नै रहेको प्रहरीले बताएको छ । नयाँ पत्रिकाबाट