काठमाडौं, ९ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा नौ स्थानबाट बृहत् जुलुस निकाल्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो ।
जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । यसअघि प्रचण्ड–नेपाल समूहले १४ पुसमा त्यही स्थानमा बृहत् विरोध–सभा आयोजना गरेको थियो । विरोध प्रदर्शनको तयारीको सिलसिलामा प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले बुधबार प्रचारात्मक मोटरसाइकल ¥याली तथा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका थिए ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेको छ । ‘यो आन्दोलन, यो विरोध प्रदर्शन, नेकपाको मात्रै नभएर संघीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रगमनका पक्षधरहरूको साझा आन्दोलन हो । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र अग्रगमनका पक्षमा रहनुभएका सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल, कार्यकर्ता, शुभेच्छुक र समर्थक सबैलाई भोलिको विरोध प्रदर्शनमा सहभागी बन्नका लागि हार्दिक आह्वान गर्दछौँ,’ संघर्ष समितिका संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ ।
ओली भन्छन्त- मासा मात्रै हो
संसद् विघटनविरुद्ध र संविधानको रक्षाका लागि भन्दै नेकपाका प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिरहेका वेला प्रधानमन्त्री केपी ओलीले त्यस्तो आन्दोलनलाई ‘तमासा’ भन्दै व्यंग्य गरेका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तमासा देखाउनेबाट जनतालाई सचेत बनाउनुपर्ने बताए ।
‘देश र जनताप्रति जिम्मेवार नभएकाहरूले जनतालाई सिनेमा देखाउँछन् । सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छे, धुमधामका साथ लभ पर्छ । हिरोइन सख्त घाइते हुन्छे, हिरो आकुल–व्याकुल हुन्छ,’ उनले भने, ‘तर, वास्तवमा त्यो लभ परेको, घाइते भएको केही पनि होइन, तमासा मात्रै हो । केही मान्छेले त्यसैगरी तमासा गर्छन्, जनता झुक्याउँछन्, हामीले त्यस्ता तत्वबाट जनतालाई सजग गराउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले कसैप्रति पूर्वाग्रह नराखी आफूहरूले काम गर्ने दाबी गरे । ‘हामी कुनै आवेग, उत्तेजना र आक्रोशमा छैनौँ । कसैप्रति आग्रह र दुराग्रह साँध्नु पनि छैन । हामी रातो झन्डा फहराउनेवाला हौँ । पेरिसडाँडामा जस्तो कालो झन्डा फहराउनेवाला होइनौँ, रातो बेलुन उडाउँछौँ, कालो बेलुन उडाउनेवाला होइनौँ, राष्ट्रिय झन्डा फहराउँछौँ, कालो झन्डा फहराउँदैनौँ । चम्किलो, उज्यालो भविष्यतर्फ अगाडि बढिरहेका छौँ, किनभने हामीलाई देश बनाउनु छ,’ उनले भने ।
नयाँ पत्रिकाबाट