Indrenionline.com

१० लाख डोज कोरोनाविरुद्धको खोप आज आउदै

इन्द्रेणी संवाददाता
काठमाडौं, ८ माघ । भारतले दिन लागेको कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्दै छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ ।एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप हस्तान्तरण गर्नु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेका प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीनवटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पुर्याउने छ भने अर्कोले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पुर्याउने छ । सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप दिन तयारी गरेको छ ।