काठमाडौं, ४ माघ । वनमन्त्री प्रेमबहादुर आलेविरुद्ध १७ वर्षअघि गृहजिल्ला डोटीमा काठ तस्करीको मुद्दा परेको थियो । तर, मुद्दाका वादी पक्षलाई धम्क्याएर अदालतमा हाजिर नै हुन नदिएर उनले फैसला आफ्नो पक्षमा पारेको खुलेको छ ।
वनरक्षक प्रेमबहादुर खड्काले ठूलो परिणाममा काठ लुकाइएको बरामद गरेपछि रेन्जर कृष्णदेव यादव नेतृत्वको टोलीले १३ वैशाख ०५५ मा घटनास्थल पुगी बरामदी मुचुल्का उठाएको थियो । जसमा छतिवन– ३ बस्ने पूर्णसिंह जेठारासहित २४ जनाले आले र बडाएरले नै काठ लुकाएको बताएका थिए ।
वनरक्षक खड्काको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आले र बडाएरविरुद्ध मुद्दा दायर गर्यो । वन कटानी गरी काठ तस्करी गरेको प्रमाणित भएकाले उनीहरूबाट नौ लाख ९८ हजार ६ सय २९ रुपैयाँ बिगो उठाउन र एक वर्ष कैद सजायको माग गरिएको थियो । वनरक्षक खड्काकै टोलीले बडाएरलाई २१ वैशाख ०५५ मा पक्राउ गरे पनि आलेलाई समात्न सकेको थिएन । बरु आलेबाट आफूलाई जिउज्यानको खतरा रहेको प्रतिवेदन खड्काले दिएका थिए ।
‘प्रेमबहादुर आले उच्छृंखल मानिस भएकोले पत्र बुझाउन नसकी हुलाकबाट रजिस्ट्री पत्र बुझाएको र पक्रन पनि नसकेकाले जिउज्यानको खतरा भएको व्यहोराको वनरक्षक प्रेमबहादुर खड्काको संयुक्त प्रतिवेदन प्राप्त भएको’ जिल्ला अदालत डोटीको फैसलामा वनरक्षक खड्काले पेस गरेको प्रतिवेदनबारे उल्लेख छ । पक्राउ गरिएका बडाएर पनि प्रहरी हिरासतबाटै फरार भए । जोराइल रेन्ज पोस्टको आग्रहमा उनलाई बुडर प्रहरी चौकीको हिरासतमा राखिएको थियो । नयाँ पत्रिकाबाट