काठमाडौं, २ माघ । कोरोनाका कारण कक्षा सुरु हुन ढिलाइ भएकाले अर्को वर्ष जेठसम्म पढाइ र असारमा परीक्षा गर्न प्रस्ताव
बिहीबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजु चलिरहेको उनले बताए । ‘अहिलेसम्म ४० प्रतिशत रुजुको काम पनि सकिएको छ,’ अध्यक्ष प्रा.डा. पौडेलले भने ।
केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायत कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ । यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाएका छन् ।
परीक्षा बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम दिएको थियो । तैपनि केन्द्राध्यक्षले भद्रगोल तरिकाले परीक्षाका काम गरेको पाइएको प्रा।डा। पौडेलको भनाइ छ । ‘वेबसाइटमा राखिदिएको फाइल डाउनलोड गरेर सिम्बोल नम्बरअनुसार माक्स चढाएको भए सहज हुने थियो, अभिमुखीकरण गरेर पनि त्यसअनुसार गरेनन्,’ उनले भने, ‘कार्यविधि पढेर त्यसअनुसारको काम पनि गरेको पाइएन ।’