Indrenionline.com

३५ वर्षमा पनि बनेन १२ किलोमिटर नहर

माधव ओली
रोल्पा, २६ पुस। रोल्पा र प्यूठानमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण शुरू गरिएको लुङ्ग्रीमाडी सिँचाइ नहर ३५ वर्षमा पनि बन्न सकेको छैन । १२ किलोमिटर रहेको नहरको केही भाग निर्माण भए पनि सञ्चालन हुन नसक्दा जीर्ण बन्न थालेको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ र प्यूठानको स्वर्गद्वारी नगरपालिका ५, ७ र ८ मा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले २०४२ सालमा उक्त आयोजनाको निर्माण शुरू गरिएको थियो । सिँचाइ आयोजनाका लागि हालसम्म करीब १४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

रोल्पाको लुङ्ग्रीखोलाबाट प्यूठानको सारी गाउँसम्मको सिँचाइ नहरको कुल लम्बाइ १२ किलोमिटर छ, जसमध्ये ७ किलोमिटर मात्र निर्माण भएको छ । आयोजनाले स्वर्गद्वारी नगरपालिका–५ सारीगाउँको मात्रै करीब २ हजार बिगाहा जमीनमा सिँचाइ गर्ने लक्ष्य लिए पनि अधुरै रहदा किसानहरू निराश भएका छन् ।

उर्वर भूमि रहेको सारीगाउँ अहिले उजाड मरुभूमि जस्तो भएको स्थानीय लोकबहादुर सुनारले गुनासो गरे । कृषिमा आत्मनिर्भर र समृद्ध नगर बनाउन यो आयोजना महŒवपूर्ण हुने भएकाले पनि यसलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने स्वर्गद्वारी नगरपालिकाका उपमेयर गोमादेवी रेग्मीको भनाइ छ । ‘स्थानीय सरकारले निर्माण गर्न सक्ने क्षमता नभएकाले प्रदेश र संघीय सरकारले बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘त्यसका लागि हामीले पहल गरिरहेका छौं ।’

दुई जिल्लाको समन्वय अभावले पनि सिँचाइ नहर निर्माण अघि बढ्न सकेको थिएन । पछिल्लो समय भने बजेट अभावका कारण समस्या भएको लुङ्ग्रीमाडी सिँचाइ आयोजना कार्यालयले बताएको छ । सरकारले पर्याप्त बजेट विनियोजन गरी सिँचाइ आयोजनाको काम अघि बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।