सल्यान, १९ पुस । शिक्षामा आएका नवीनतम् प्रयोग, बाल मनोविज्ञान र वर्तमान समय अनकूलको शिक्षण प्रविधिको बारेमा जानकारी दिन भन्दै सल्यान कपुरकोटका शिक्षकहरुको लागि १० दिने तालिम शुरु भएको छ । मानव संशाधन विकास केन्द्र सुर्खेतको आयोजना र कपुरकोट गाउँपालिकाको व्यवस्थापनमा आइतबार देखी तालिम सुरु भएको हो ।
कपुरकोट शिक्षा शाखा प्रमुख रमेश कुमार आचार्यको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले शिक्षकहरुको क्षमता विकासलाई विशेष ख्याल गर्दै दक्ष शिक्षक मार्फत गुणस्तरिय शिक्षामा गाउँपालिकाले जोड दिएको बताइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले शिक्षामा विकास भए मात्र देशको विकास हुने बताउँदै शिक्षकको पेशागत विकासका कार्यक्रमहरू कपुरकोट गाउँपालिकामा थप व्यवस्थित बनाउदै लगिने बताए ।
तालिम उद्घाटन कार्यक्रमको संचालन शिक्षक पदम खड्काले गरेका थिए । यही पुस २८ गते सम्म तालिम सञ्चालन हुने छ । तालिमको प्रशिक्षकमा सिट्टीसाप विष्ट रहेका छन् ।