काठमाडौं, १९, पुस । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुरु गरेको आन्दोलनप्रति कठोर कटाक्ष गरेका छन् । आफ्नो समूहको नेकपा काठमाडौंले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को नेकपाले सुरु गरेको आन्दोलन पद प्राप्ति र व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित रहेको आरोप लगाए ।
ओलीले आफ्नो नेतृत्वको सरकारले दुनियाँ आश्चर्यचकित हुने गरी काम गरेको पनि दाबी गरे । ‘अहिले भारतका मान्छेलाई नेपालको प्रधानमन्त्री को छ भन्दै सोध्यो भने हरेकलाई कण्ठै छ । अन्तर्राष्ट्रिय मञ्चमा हामी सुनिन थालेका छौँ । हाम्रा दृष्टिकोणको सराहना हुन थालेको छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने आफ्नो कदम संवैधानिक रूपमा सही रहेकोतिर होइन, बरु प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै कार्यक्रममा लगातार थुप्रै कटाक्ष गरे । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको धेरै समय प्रचण्ड र नेपालको आलोचनामै खर्चे । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजन भएको छ । प्रचण्ड–नेपाल समूहले ओलीको कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै सडक संघर्षसमेत सुरु गरेको छ ।
सुन्तला खानु छ, सल्लाघारी जाने ?
ओलीले प्रचण्ड, नेपाल, झलनाथ खनाललगायत नेतालाई पद र कुर्ची चाहिए पनि बैठकमा नआएर पार्टी विभाजनतिर लागेको भन्दै कटाक्ष गरे । ‘माथिका नेताहरूको ध्यान जम्माजम्मी कुर्ची र पदमा छ, पद चाहएको थियो भने त यता ९बालुवाटार बैठकतिर० आउनुपथ्र्यो, तर कार्की बैंक्वेटतिर भेला हुनुभएछ । सुन्तला खानु छ भने त सुन्तलाघारी जानुपर्छ, सल्लाघारीतिर किन जाने रु’ ओलीले भने, ‘अस्ति हाम्रो पार्टी ९बैठक०मा उपस्थित नभएर हराएका मान्छेहरूले एउटा सभा गरेछन् । त्यहाँ एकाथरीले एउटा, अर्कोथरीले अर्को नारा लगाए, त्यहीँ ठाकठुक पर्न थाल्यो । दुईवटा दर्सिनढुंगा ठोक्किएजस्तो झलाकझुलक भयो, अहिले नै यस्तो छ उहाँहरूको, भर्खर सुरु हुँदै छ उहाँहरूको हालत, झुलो–चकमक ठोक्किएजस्तो ।’
भेट्नो कुहिएर झरेको दुइटाले सक्कली दाबी गर्ने ?
ओलीले प्रचण्ड–नेपाल समूहलाई भेट्नो कुहिएर झरेको दुईवटा फलसँग तुलना गर्दै मूल धार दाबी गर्नै नमिल्ने तर्क मात्रै गरेनन्, आफ्नो समूहले सक्कली धारका लागि निर्वाचन आयोगमा कुनै आवेदन नै नगर्नेसमेत प्रस्ट्याए ।
‘निर्वाचन आयोगबाट हिजो मैले एउटा पत्र प्राप्त गरेँ । उहाँहरूले असली हामी हौँ भनेर एउटा निवेदन हाल्नुभएको रहेछ । यो बरमझिया बुढाको पेडा पसल हो सक्कली र नक्कली रु असली बुढो मै हुँ । हामी सक्कली हौँ, सूर्य चिह्न हामीलाई दिनुहोला भनेर निवेदन हाल्नुभएको छ । जसको घर हो, ऊ मेरो घर हो भनेर निवेदन हाल्न जान्छ रु जसको जमिन हो, ऊ मेरो जमिन हो भनेर जान्छ रु जसको गाडी हो, यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ रु त्यसकारण हामी निवेदन हाल्न जानुपर्दैन,’ ओलीले भने, ‘संविधानसम्मत ढंगले, विधानसम्मत ढंगले, कानुनअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । अब भेट्नु कुहिएर झरेका दुईवटा फलहरूले रूखै मै हुँ भनेर दाबी गर्ने रु हामीले उहाँहरूलाई बैठकमा निमन्त्रणा गरिरहेका छौँ, अध्यक्ष र वरिष्ठ नेतामा राखिरहेका छौँ, कुनै हतारो गरिरहेका छैनौँ, अझै सम्झाउन खोजिरहेका छौँ ।’
ओलीले प्रचण्ड–नेपालको पत्र देखेर निर्वाचन आयुक्तहरू हाँसेकोसमेत दाबी गरे । ‘कार्की बैंक्वेटमा गएर केपी ओलीलाई निकालेको घोषणा गरेर निर्वाचन आयोगमा पत्र पठाउनुभएछ,’ ओलीले भने, ‘पत्र हेरेपछि आयोगका आयुक्तज्यूहरू कति दिन हाँस्नुभो मलाई थाहा छैन । जसको कटेरो उसको पुच्छर बाहिर भनेजस्तो ।’ नयाँ पत्रिकाबाट