इन्द्रेणी संवाददाता
काठमाडौं, १३ पुस । व्यवसायिक उखु खेती गर्ने तराइका जिल्लाका उखु किसानहरु पुसको चिसोमा राजधानीमा आन्दोलन गर्दै आएका छन् । कठ्याग्रीदो चिसोलाई प्रवाह नै नगरी उनीहरु माइतीघरमण्डलामा रकम भुक्तानीको माग गर्दै धर्ना वसेको आज १५ दिन भइसक्यो ।
अहिलेसम्म सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । आन्द्योलनलाई कथर पार्नका लागि होला केही चिनी उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने उनीहरू बताएका छन् ।
चिनी उद्योगीहरूबाट उखु किसानहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताइएको छ । गएको सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।