Indrenionline.com

अलमलमा कांग्रेस…..

काठमाडौं, १० पुस । आन्दोलन वा सत्ता–सहकार्यमा नेकपासँगको समीकरणलाई लिएर कांग्रेसभित्र छलफल सुुरु भएको छ । संसद् पुनस्र्थापना पनि नहुने र चुनाव पनि सुनिश्चित नभएको अवस्थामा हुने संघर्ष र संसद् पुनस्र्थापना भए त्यसपछि बन्ने सरकारमा सहभागितालाई लिएर कांग्रेसभित्र छलफल सुरु भएको हो । जारी केन्द्रीय कमिटी बैठकमा संसद् पुनस्र्थापना वा चुनावी तयारी भन्ने विषयमा नेताका फरकफरक मत आएका छन् ।

बैठकमा देउवानिकट मानिने उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गरे वा नगरे दुवै अवस्थामा कम्युनिस्टको नेतृत्वमा सरकारमा जान नहुने धारणा राखे । ‘संविधान हामीले नै बनाएका हौँ, हामीलाई स्वतन्त्र न्यायालयमाथि भरोसा छ, त्यसैले संसद् ब्यँुतिन्छ भन्ने विश्वास छ । तर, संसद् ब्युँतिएको अवस्थामा पनि कांग्रेस सरकारमा जानुहुँदैन । यदि सरकार नै नबन्ने अवस्था आए कांग्रेसले समर्थन गर्ने कुरा अलग हो । नेकपाले सरकार चलाउन नसक्ने अवस्था भए प्रतिपक्षले जिम्मेवारी लिनुपर्छ, त्यसवेला मात्रै कांग्रेस सरकारमा जाने हो, त्यो पनि ओली वा प्रचण्डको नेतृत्वमा होइन, आफ्नै नेतृत्वमा जाने हो,’ निधिले भने ।

कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख कदमको विरोध गर्ने, सकेसम्म संसद् ब्युँताउन प्रयास गर्ने, नभए चुनावको सुनिश्चितता गराएर चुनावमा जाने संकेत गरेको छ । तर, उपसभापति निधिले सरकारले चालेको कदमको विरोध गर्नुपर्ने, तर स्वतन्त्र न्यायालयको परिकल्पना गर्ने पार्टीले त्यसलाई प्रभावित पार्ने गरी गतिविधि गर्न नहुने तर्क पेस गरे । ‘अहिले हामी पहिलो विकल्पमा छौँ, संसद् ब्युँताउने कुरा हाम्रो हातमा छैन, अदालतमा छ, अदालतले संविधानको व्याख्या गर्छ, हामी लोकतान्त्रिक पार्टी भएकाले त्यसलाई स्विकारेर जानुको विकल्प छैन,’ उनले भने ।