Indrenionline.com

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्ष आन्दोलनमा

काठमाडौं, १० पुस । नेकपाको प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा केन्द्रित हुने भएको छ । बिहीबार कार्की बैंक्वेट बबरमहलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहने गरी बैठकले २५ सय एक सदस्यीय संघर्ष कमिटी बनाएको छ । परिचालनका लागि सचिवालयसमेत बनाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘पार्टी एकतालाई कमजोर पार्न खोज्ने र नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्न खोज्ने सबै प्रकारका प्रवृत्ति र गतिविधिहरूका विरुद्ध पार्टी एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभाको कथित विघटनको घोषणा र त्यससँग जोडिएर आएको प्रतिगामी षड्यन्त्रविरुद्ध संघर्ष गर्ने उद्घोषसहित केन्द्रीय कमिटी बैठकले पहिलो चरणको कार्यक्रम घोषणा गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भने ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनदेखि स्थानीय तहका वडा तहसम्म भेला र प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार शुक्रबार बिहान माइतीघर मण्डला र अपराह्न निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरू र पार्टीका सांसदहरूको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ भने दिउँसो २ बजे अध्यक्षद्वय माधव नेपाल र प्रचण्डले पत्रकार सम्मेलन गर्नेछन् ।

त्यस्तै, शनिबार प्रदेश कार्यालयको संयोजनात्मक छलफल गर्ने र सात दिनभित्र प्रदेश कमिटीहरूको बैठक सम्पन्न गर्ने, आइतबार ७७ जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गरिनेछन् । भेलामा पार्टी एकताविरुद्धको षड्यन्त्र र भ्रम, प्रतिगामी षड्यन्त्र र विघटनका विरुद्धको संघर्ष सञ्चालनबारे प्रशिक्षण दिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, १४ पुसमा राजधानी काठमाडौंसहित जिल्लाहरूमा प्रतिनिधिसभाको विघटन र प्रतिगामी षड्यन्त्रविरुद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने, २० पुसमा सबै गाउँपालिका र नगरपालिकास्तरमा पार्टीको बैठक र भेलाहरू आयोजना गर्ने, २५ पुसमा सबै वडास्तरसम्म बैठक र भेला गर्ने तथा १४ पुससम्म सबै जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र भेला गरिने कार्ययोजना सार्वजनिक गरिएको छ । यसका अलवा राजधानीमा यसबीचमै पनि विभिन्न स्थानीय कार्यक्रमहरू विरोध प्रदर्शनका रूपमा आयोजना गरिने जानकारी दिइएको छ । पहिलो चरणको संघर्षका कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रूपमा उच्चस्तरीय कार्यक्रम घोषणा गरिने जानकारी दिँदै प्रवक्ता श्रेष्ठले सम्बन्धित प्रदेशका स्थायी कमिटी सदस्यहरू, प्रदेश पदाधिकारीहरूलाई तत्काल संघर्षमा जुट्न र आ–आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिइएको पनि बताए ।

प्रचण्ड–नेपालको वरीयता तोकिएन, आलोपालो अध्यक्षतामा सहमति

अध्यक्ष प्रचण्ड र नेपालबीच पार्टी विधानअनुसार बैठकको अध्यक्षता गर्दै पार्टी सञ्चालन गर्ने सहमति भएको छ । यसबारे ७ पुसको बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराइसकेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ‘अध्यक्ष प्रचण्डले पार्टी विधानको प्रस्ट पालना गर्ने गरी दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने र वरीयता पनि बैठकको अध्यक्षताका आधारमा हुने सहमति भइसकेको अघिल्लो बैठकमै जानकारी गराइसक्नुभएको छ,’ रिजालले भने । जसअनुसार बैठक अध्यक्षता गर्ने अध्यक्ष पहिलो वरीयतामा हुनेछन् भने अर्को अध्यक्ष दोस्रो वरीयतामा हुनेछन् । दोस्रोपटकको बैठकको अध्यक्षता फेरिनेबित्तिकै अर्को अध्यक्ष पहिलो वरीयतामा हुनेछन् । जसअनुसार प्रचण्ड–नेपाल नेकपामा कहिले माधव नेपाल त कहिले प्रचण्ड पहिलो वरीयताको अध्यक्ष बन्ने समझदारी भएको छ नयाँ पत्रिकामा खबर छ। ७ पुसको बैठकको अध्यक्षता प्रचण्डले गरेको र बिहीबार त्यसैको निरन्तरताका रूपमा बैठक बसेकाले यो बैठकमा नेपाल दोस्रो वरीयतामा बसेका छन् । बैठकको सुरुवात नेपालले र समापन प्रचण्डले गरेका थिए भने सञ्चालन प्रवक्ता श्रेष्ठले गरेका थिए ।