काठमाडौं, ७ पुस । पार्टी एकताको दुई वर्ष सात महिनापछि दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपा मंगलबारबाटै औपचारिक विभाजनतर्फ जाने निश्चित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्कोलाई अनुशासनको कारबाही गर्ने उद्देश्यले मंगलबार केन्द्रीय कमिटी आह्वान गरेपछि नेकपा औपचारिक विभाजनमा जाने निश्चित भएको हो ।
ओली पक्षले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे कार्की बेंक्वेट थापाथलीमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलीका तर्फबाट केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल र अर्कोतर्फबाट केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यले स्थान र समयको सूचित गरिसकेका छन् ।
बैठकका लागि उपत्यकाबाहिर रहेका दुवै पक्षका केन्द्रीय सदस्य काठमाडौंमा भेला हुँदै छन् । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ । तर, गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई साथ नदिएको अवस्थामा भने पूर्वमाओवादी समूहको संख्या तलमाथि हुनेछ ।
आइतबार बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकको निर्णयअनुसार ओलीमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा संगठित सदस्य नरहने गरी निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी छ । निर्णयलगत्तै त्यसको जानकारी निर्वाचन आयोगलाई दिने तयारी छ ।
स्थायी कमिटीले अनुशासनको कारबाही गर्न प्रस्ताव गरेको निर्णयसहितको पत्र नेता लीलामणि पोखरेलले सोमबार निर्वाचन आयोगको कार्यालयमा बुझाएका छन् । सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पोखरेलले गरेको कुराकानीका आधारमा केन्द्रीय कमिटीको बहुमत सदस्यले कारबाही गरेको हस्ताक्षरसहितको पत्र आयोगबाट माग भएको ब्रिफिङ गरेका छन् । केन्द्रीय कमिटीको बहुमत सदस्यको कारबाहीसहितको निर्णय जानकारी गराएमा नेकपाले नै वैधानिकता प्राप्त गर्ने विद्यमान निर्वाचन कानुन रहेकोसमेत आयोगले जानकारी गराएको प्रचण्डले सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।
उता, प्रधानमन्त्री ओली पक्षले पनि मंगलबार डाकिएको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष प्रचण्डमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गर्ने तयारी गरेको छ । तर, ओली पक्षले केन्द्रीय कमिटीमा बहुमत नपुग्ने निश्चित देखिएपछि नेकपा दुई अध्यक्षात्मक प्रणालीमा रहेको र एउटा पक्षले अलग्गै बैठक गरेर अनुचित निर्णय लिएकाले एकता भंग हुने दलिलसहित कारबाहीपछि निर्वाचन आयोगमा पत्राचार गर्ने तयारी गरेको छ ।
ओलीपक्षीय नेताहरूले एकता भंगलाई आयोगले मान्यता दिएपछि नेकपा औपचारिक रूपमै तत्कालीन एमाले र नेकपा ९माओवादी केन्द्र० पूर्ववत् अवस्थामा रहने बताइरहेका छन् । त्यसअनुसार पार्टीको चुनाव चिह्न सूर्य र पार्टी कार्यालय धुम्बाराही नै हुने दाबीसमेत गर्दै आएका छन् ।
सोमबारको सांसदहरूको भेलामै प्रधानमन्त्री ओलीले त्यसको प्रस्ट संकेत दिएको सहभागी एक नेताले बताए । ‘दुई अध्यक्षको सहमतिमा बैठक बस्ने विधानको व्यवस्था हो, तर त्यसविपरीत बैठक बसेर निर्णय गर्नेबित्तिकै एकता भंग हुन्छ, निर्वाचन आयोगले पनि यो व्यवस्थाको अध्ययन गरेरै निर्णय गर्ला,’ ओलीले बैठकमा व्यक्त गरेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘त्यसपछि त आ–आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर, माओवादी अर्कोतिर लाग्छ कोही प्रचण्डसँग जान चाहन्छन् भने जान सक्छन्, जस्तो लेखराजजी लगायतका साथी हामीसँग हुनुहुन्छ ।’ आयोगले त्यस्तो निर्णय गर्नेतिर संकेत गर्दै ओलीले पूर्ववत् माओवादी केन्द्र ब्युँतिएमा केही नेताहरू त्यतै भए पनि पूर्वएमालेको अधिकांश पंक्ति एकढिक्का हुने दाबीसमेत गरेका थिए । ओलीको पक्षमा केन्द्रीय कमिटीमा एक सय ४० देखि एक सय ४५ सदस्य रहेका छन् ।
कता खुल्लान् वामदेव र बादल ?
मंगलबारबाटै पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन् । गौतमसँग नाम जोडिएका सबैजसो सांसदले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । तर, ओली र गौतमसँग समदूरीमा रहेका स्थायी कमिटी सदस्य तथा सांसद रघुवीर महासेठले भने आफूहरूलाई साथ दिने वरिष्ठ नेता माधवकुमार नेपालले दाबी गरेका छन् । उनीसँग जोडिएका केन्द्रीय सदस्यहरू बलराम बाँस्कोटा, हरि पराजुली, राधा ज्ञवालीलगायत केही अझै गौतमकै कारण कतै खुलेका छैनन् ।
प्रतिनिधिसभा विघटनको विरोध गरेका गौतम दुवै पक्षको भेला र छलफलमा सामेल छैनन् । मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा भने उनी कता जान्छन्, सबैको चासो भएको छ । तर, गौतमले सोमबार औपचारिक भनाइमार्फत आफू फुटको साक्षी नबस्ने बताएर दुवैतिरको बैठकमा नजाने प्रस्ट संकेत गरेका छन् । ‘अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु,’ उनले भनेका छन् ।
उता, गौतमजस्तै गृहमन्त्री बादल कता लाग्लान् भन्ने विषय पनि नेकपापंक्तिमा चासो बढेको छ । उनको समूहमा रहेका स्थायी कमिटी सदस्य देव गुरुङ र पम्फा भुसालसहित करिब दुई दर्जन केन्द्रीय सदस्यमध्ये अधिकांशले पुल्चोकस्थित क्वार्टरमै पुगेर बादललाई प्रचण्ड–नेपालको पक्षमा खुल्न र विघटनको समर्थन गरेर प्रतिक्रान्तिको बाटोमा नहिँड्न दबाब दिएका छन् । यद्यपि, उनकै समूहका केन्द्रीय सदस्य कुलप्रसाद केसीसहित आधा दर्जनजति केन्द्रीय सदस्य भने उनी अन्तिममा जता खुल्छन् त्यतै लाग्ने मनस्थितिमा देखिएको स्रोतले जनाएको छ । ‘हामीले उहाँलाई भेटेर दबाब दिएकै हो, अन्तिममा उहाँले तपाईंहरूको भावनाको सम्मान गर्दै अब उचित निर्णय लिन्छु, ढुक्क हुनुस्, प्रतिक्रान्तिको बाटोमा लाग्दिनँ भन्नुभएको छ,’ उनीनिकट एक स्थायी कमिटी सदस्यले भने ।
उनीनिकट स्रोतका अनुसार बादलले प्रधानमन्त्री र प्रचण्ड दुवैलाई आफूले अन्तिममा साथ दिने आश्वासन दिएका छन् । बादलले दुवै अध्यक्षसँग बेग्लाबेग्लै भेट पनि गरेका थिए । ‘प्रधानमन्त्री महाधिवेशनसम्म अहिलेकै जनताको जनवादको कार्यदिशालाई बोकेर जाने र महाधिवेशनमा मात्रै बहस ओपन गर्ने, अहिलेलाई जबज नबोक्ने लिखित समझदारीमा तयार हुनुभयो भने त्यतातिर समर्थन गर्ने सम्भावना पनि छ, उहाँ अझै सोच्ने तहमै हुनुहुन्छ, अन्यथा उहाँले बहुसंख्यककै निर्णयअनुसार प्रचण्ड–नेपाललाई नै साथ दिनुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो । उनी पनि दुवै पक्षको भेलामा सामेल छैनन् । नयाँ पत्रिकाबाट