काठमाडौं, ३ पुस । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसङ्गत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।
बैठकका निर्णय सुनाउँदै समिति सचिव डा। रोजनाथ पाण्डेले को–कसले अनियमितता गर्नुभएको छ छानबिन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताए । ‘आज माननीय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो । माननीय सदस्यहरूले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड–१९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार, विमर्श गर्ने क्रममा समिति के निष्कर्षमा पुग्यो भने यो खरिद प्रक्रिया पूर्णरूपमा नियमसङ्गत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरूको संलग्न हुनुहुन्छ, उहाँहरू दोषी हुनुहुन्छ । दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानबिन गरेर को–को दोषी हुनुहुन्छ, क–कसले अनियमितता गर्नुभएको छ, त्यो कुरा पहिचान गरेर कानुनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखि पाउने गरी निर्णय भएको छ । त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौँ र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ’, उनले भने ।
समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।