Indrenionline.com

‘स्वदेशी उत्पादनको प्रवद्र्धनमा हस्तकला व्यवसायको योगदान महत्वपूर्ण’

इन्द्रेणी संवाददाता
काठमाडौं, १ पुस । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले स्वदेशी उत्पादनलाई प्राथमिकता र प्रर्वद्धन गर्नुपर्ने बताएकी छन् ।

नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनी अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवद्र्धन गर्नुपर्ने बताएकी हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिइन् ।

‘कोभिड १९ बाट प्रभावित हस्तकला उद्योगको संरक्षणका लागि सरकारको पहलमा बैंक ब्याजदर घटाउने, सहुलियत कर्जा र पुनर्कर्जाको व्यवस्था, कच्चा पदार्थमा भन्सार छुटजस्ता व्यवस्था हुन सके व्यवसायीलाई सहज हुनेछ’, उनले भनिन्,, ‘महामारीले प्रभावित भएको हस्तकला व्यवसायलाई फेरि पहिलेकै अवस्थामा फर्काउन मैले सक्दो समन्वय र पहल गर्नेछु।’

नेपाली हस्तकला क्षेत्रले वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात गरिरहेको र ११ लाख युवाहरुलाई रोजगारी दिइरहेको भन्दै उपाध्यक्ष दहालले नेपालमा उत्पादित हस्तकला सामग्रीको विश्व बजारमा आकर्षण र माग धेरै भएको बताइन् ।