काठमाडौं, ३० मंसिर । सर्लाहीको रामनगर गाउँपालिकाका गगनदेव राय ७० वर्षका भए । शरीर जीर्ण भइसक्यो, तर खेतीकिसानी नगरी परिवार पाल्ने अर्को उपाय छैन । आफ्नो दुई बिघा जमिनमध्ये एक बिघा नदी किनारमा झाडी भएर बसेको छ । एक बिघामा उनले ऋण लिएर उखुखेती गरेका छन् ।
तर, चिनी मिलका मालिक गाउँमा नभेटिएपछि आन्दोलन गरेर भए पनि पैसा उठाउने भनेर उनी काठमाडौं आएका छन् । ‘चिनी मिलले त ठग्यो नै, पैसा उठाउन गाउँका नेता र मेयरले पनि हामीलाई साथ दिएनन्,’ रात बिताउन काठमाडौंको पशुपति धर्मशाला पुगेका उनले सोमबार साँझ बताए । गाउँमा छोराछोरी छोडेर आन्दोलनका लागि काठमाडौं आएका उनको मन भने परिवारको चिन्तामा सर्लाही नै पुगेको छ ।
आन्दोलनका लागि काठमाडौं आउँदासमेत उनले १० हजार रुपैयाँ ऋण लिएका छन् । आठ सय रुपैयाँ बसभाडा नै लाग्यो, धर्मशालामा बसेको र दुई छाक खाना खाँदा दैनिक पाँच सय रुपैयाँ खर्च भइरहेको छ । तर, काठमाडौंमा आन्दोलन गरेपछि पक्कै पाउनुपर्ने रकम पाइएला भन्ने विश्वास उनको छ । ‘हामी सबैले प्रण गरेका छौँ कि अब हााम्रो खातामा जबसम्म पैसा आउँदैन, तबसम्म यहाँबाट जाँदैनौँ । १० दिन, एक महिना वा ६ महिनासम्म लागे पनि हामी बस्छौँ । सरकारले गोली हान्दियो भने त्यो पनि मन्जुर छ । तर, पैसा नलिई घर जाँदैनौँ,’ उनले भने, ‘हामीले भिख मागेको होइन, उखु बेचेको पैसा मागेको हो ।’
चिनी मिलले पैसा नदिएपछि आफ्नो परिवार ठूलो समस्यामा परेको उनले बताए । ‘भर्खरै मात्रै १६ हजार रुपैयाँ ऋण लिएर श्रीमतीको आँखाको अप्रेसन गराएँ,’ उनले भने, ‘मेरो पनि आँखामा समस्या आएको छ, राम्ररी देख्न सकिरहेको छैन । पैसा नभएर उपचार गर्न पाएको छैन ।’ हरेक साल बर्खामा घरमा पानी पस्छ । कम्मरसम्म पानीले डुब्छ । त्यो घर उनले मर्मत गर्न सकेका छैनन् ।
सर्लाहीकै रामबाबु मण्डलका घरमा ६ छोरी र तीन छोरा छन् । ती सबैलाई कमाएर खुवाउने उनले नै हो । तर, छोराछोरी र परिवारलाई सर्लाहीमै छोडेर उनी काठमाडौं आएका छन् । ‘म गाउँमा नहुँदा छोराछोरी र परिवारले के खालान् भन्ने चिन्ता छ, तर चिनी मिलका साहुले ०७१ सालदेखिको पैसा नदिएपछि त्यो उठाउन सकिन्छ कि भनेर काठमाडौं आएको छु,’ उनले भने । काठमाडौं आउन आफूसँग पैसा नभएकाले ८ हजार रुपैयाँ सापटी लिएर आएको उनले बताए । ‘काठमाडौंमा उखु बेचेको पैसा पाएपछि फिर्ता गराइदिन्छु भनेर सापटी लिएर आएको हँु,’ उनले भने । नयाँ पत्रिकाबाट