काठमाडौं, २८ मंसिर । नेकपाभित्रको शक्तिसंघर्षको असर संवैधानिक परिषद्को बैठकमा परेको छ । पार्टीभित्रको विवाद चर्किरहेकै वेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान परिषद्को बैठक बोलाएका थिए । तर, अन्तिम समयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सहभागी नहुने सूचना दिएपछि बैठक प्रभावित भएको छ ।
स्थायी कमिटी बैठक जारी रहेको र पार्टीभित्र लगातार दबाबको सामना गरिरहेका प्रधानमन्त्री ओलीले विपक्षी दललाई समेत सहमतिमा ल्याएर विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्ने र पार्टीभित्रका विरोधी समूहलाई दबाबमा राख्ने रणनीति बनाएका थिए । २१ मंसिरमै आइतबारका लागि स्थायी कमिटी बैठक तय भएपछि मात्रै ओलीले त्यसै दिनका लागि परिषद् बैठक बोलाएका थिए ।
तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले ओली अहिले संकटमा परेको र पार्टीभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेका थिए । स्रोतका अनुसार यही आग्रहपछि देउवाले पार्टीभित्र छलफल गरी परिषद् बैठकमा नजाने निर्णय लिएका हुन् । नयाँ पत्रिकाबाट