Indrenionline.com

निजी उद्योगले घरआँगनमा डोजर चलायो, जनप्रतिनिधीसँको साँठगाँठमा सर्वसाधारणको उठिवास

मकवानपुर, २३ मंसिर । मकवानपुरको एक निजी उद्योगले आफ्नो स्वार्थको लागि खानी उत्खनन् गर्दा स्थानीय सर्वसाधारणको घरवास उठेको छ । हेटौंडामा उद्योग रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी उत्खननको क्रममा स्थानीयवासीहरुको उठिबास लाग्ने अवस्था आएको हो ।

उद्योगको खानी मकवानपुर जिल्लाको विकट राक्सिर गाउँपालिका–४ गिङ्ङु भन्ने ठाउँमा रहेको छ । उद्योगले स्थानीयबासीहरुको उचित व्यवस्थापन बिना नै खानी सञ्चालन गरेपछि गिङ्ङुका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन् ।

अन्य करिब एक दर्जन बढी घर परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीय बलराम चेपाङले बताए । ‘मेरो पनि ४ रोपनीको पैसा पायो ६ रोपनी जग्गाको पैसा दिएको छैन ।’ उनले भने, ‘आगनमा डोजर चल्न थालेपछि यहाँ कसरी बस्ने, मैले पनि गाउँ छाड्नुपर्ने भो ।’

उद्योगलाई न्युन मुल्यमा जग्गा विक्री गरेका स्थानीयहले पटक पटक गरी प्राप्त गरेको रकम खर्च गरिसकेका छन् । घरबारीमा खानी सञ्चालन भएपछि उनीहरुले अन्यत्र बिकल्प नहुँदा गाउँ छाड्न सकेका छैनन् । ‘पहरामा घर छ मेरो, अब अरुको त पैसा लिएर छाडे मैले त अब पैसा पाएको पनि छैन । बस्न पनि गार्हो छ‘ ,स्थानीय राममाया चेपाङले गुनासो पोखिन्, ‘उद्योगले छिट्टै पैसा दिए ज्यान धरापमा पारेर म बस्ने थिइन ।’

स्थानीय जनप्रतिनिधिहरुले प्रभावित बासिन्दालाई कुनै जानकारी नै नदिई उद्योगसँग सहमति गरेर खानी सञ्चालन गर्न दिएको स्थानीयनासीको आरोप छ । उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार निस्थापित हुने र २५ हेक्टर जमिन प्रभावित भएको स्थानीयनासीहरुको भनाई छ ।

स्थानीयवासीले विकास निर्माणका कारण आफूहरुलाई राहत हुनु पर्नेमा घात चाँही भएको भन्दै विरोध गरेपछि मकवानपुर प्रशासन स्थानीयको गुनासो सुनुवाईको लागि गाउँपालिका पुगेको छ राजधानीमा खबर छ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–४ मा रहेको हेटौंडास्थित ऋद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानीले स्थानीयलाई समस्या भएको तिव्र गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोली विकट राक्सिराड्ड गाउँपालिकाको वडा न ४ मा पुगेको हो ।