Indrenionline.com

भ्रष्ट सोचाइ भएकाले मात्रै भ्रष्टाचार देखेको छ : प्रधानमन्त्री ओली

इन्द्रेणी संवाददाता

काठमाडौं, १९ मंसिर । सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लागिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट सोचाइ भएकाले मात्रै जे काममा पनि भ्रष्चार भएको देख्ने गरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा ओलीले विकास निर्माणका काम कछुवा गति नभइ तीव्र गतिमा गर्न आग्रह गर्दै भ्रष्ट सोचाइ भएकाहरूले जे काममा पनि भ्रष्टाचार हुन्छ भन्ने देख्ने गरेको बताएका हुन् ।

“एकथरिलाई सबै काममा भ्रष्टाचार हुन्छ भन्ने लागेको छ । ती भ्रष्ट सोचाइ भएकाले भ्रष्टाचार नहुने कुरा पत्याउँदैनन् । पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन । त्यस्तो भएमा गाईभैँसी र मान्छेमा भिन्नता हुँदैन । त्यस्ताले विकास निर्माणमा उल्झन ल्याउँछन्”, उनले भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको काठमाण्डौ–तराई–मधेस द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकनाको जग्गाको मुआब्जा विवादमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर आफ्ना निहित फाइदा उठाउनेलाई सम्झाइबुझाइ गर्नुपर्ने बताए ।
विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तर्विरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न उनले सम्बन्धित पक्षलाई आग्रह समेत गरे ।