सल्यान, १५ मंसिर । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान-रुकुमखण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको कालोपत्र उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो । तर टालटुल गरिएको उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ । अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उत्रिएर धुलाम्मे भएको छ । यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताए । ‘जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै छ,’ उनले भने । सडक मर्मतको नाममा करोडौं रकम विनियोजन गरिए पनि सडकको अवस्था बिगँ्रदै गएको उनको भनाइ छ ।
अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो समयसम्म पनि सडक चौडा नभएकाले सडक जीर्ण बनको छ । यसले सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ । सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले बताए ।
राप्ती लोकमार्गमा थुप्रै गाडी दुर्घटना हुने गरेका छन् । २०६३ सालमा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मुत्यु भएको थियो । यस्तै २०७५ सालमा राम्रीमा स्कुल बस दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए अभियानमा खबर छ। राप्ती लोकमार्ग अन्तर्गत अमेलियादेखि रुकुमको सल्लेसम्म १६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । दाङ क्षेत्रमा सडकको अवस्था सन्तोजनक भएपछि सल्यान खण्ड र रुकुम खण्ड जीर्ण बनेको छ ।
सडक डिभिजन कार्यालय, दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ । कार्यालयका प्रमुख निरज शाक्यले ठेक्का व्यवस्थापन र २ प्याकेजमा काम अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।