Indrenionline.com

झिमरुकमा प्रयोगात्मक तरकारी खेती शुरु

प्युठान, १२ मंसिर। प्युठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ । गत वर्षको माघदेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं ४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिए । अघिल्लो वर्ष अढाइ रोपनीमा सञ्चालन गरिएको फार्म यस वर्ष चार रोपनीमा विस्तार गरिएको उनले बताए ।

गाउँपालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको उनले बताए ।

उनले भने, ‘अघिल्ला वर्षमा तालिम धेरैपटक दियौँ, तर किसानले तालिमपछि खेती गर्नुभएन ।’ पहिले दिएका तालिम कोठामा मात्रै सीमित भएपछि यसलाई व्यवहारतः खेती गर्न प्रदर्शनी केन्द्र सञ्चालनले सहयोग पुयाएको उनको भनाइ छ । प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषि गर्न इच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेको उनले बताए ।

गाउँपालिका क्षेत्रभित्र सधैँ बाहिरबाट आएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पुयाउने विश्वास गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको प्रदर्शनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाँजर, धनिया, भान्टा, मुलालगायतका तरकारी उत्पादन भइरहेका छन् । त्यस्तै हाललाई प्याज र कोभीका बेर्ना उत्पादन गरिएको छ भने मौसमअनुसारका बेर्नाहरुसमेत राख्ने गरिएको उनले बताए ।

त्यसमध्ये टमाटर, काउली, भान्टा, धनियाँ विक्रीसमेत भइरहेको छ । बजार क्षेत्रमा भन्दा केन्द्रमार्फत केही सहुलियतमा तरकारी बिक्री गर्दै आएकोसमेत उनले बताए । अबको केही समयमा काँक्रा, करेला लगाउने तयारी भएको उहाँको भनाइ छ । उत्पादित तरकारी केन्द्रबाटै विक्री वितरण हँुदै आएको छ ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि रु चार लाख ७० हजार बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा रू। दुई लाख बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख विकले बताए । अघिल्लो आवमा तरकारी विक्री वितरणबाट रू। ९४ हजार ५०० र चालू आवको हालसम्म करीब रू। ३५ हजार बराबरको तरकारी विक्री गरेको उनले बताए । तरकारी विक्रीबाट आएको रकम पालिकाको खातामा राख्ने गरिएको छ ।

गाउँपालिकाभित्र २०७ ओटा कृषि समूह तथा कृषि तथा पशुपक्षी फार्म छन् । पकेट क्षेत्रको आधारमा कृषक छनोट गरिएको छ । मौसमीसँगै बेमौसमी खेतीलाई पनि प्राथमिकता दिने गाउँपालिकाले जानकारी दिएको छ । रासस