शंकर केसी
सल्यान, १२ मंसिर । महिला र पुरुष दुवैका आवश्यकतालाई सम्बोधन गर्ने गरी लैंगिक उत्तरदायी बजेट तर्जुमा गर्नुपर्ने विषयमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
दलित महिला केन्द्र काठमाण्डौँको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य कमला विकले अझै पनि दलितहरुको जीवनस्तर माथी उठाउनका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको बताइन् । लैंगीक समानता र सामाजिक समावेशीकरण विशेषज्ञ अनिता विशंखको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक पवनराज देवकोटाले लैंगिक उत्तरदायी बजेट र समावेशी योजना तर्जुमा एवम् योजना तथा बजेट तर्जुमा गर्दा प्राथमिकता दिनुपर्ने विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुन लगाएतले लक्षीत वर्गलाइ प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम र त्यस अनुसारको बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए । समृद्धिको आधार नै लैंगिक उत्तरदायी बजेट भएकाले स्थानिय तहहरुले निती तथा कार्यक्रम एवम् बजेट ल्याउनु अघि समग्र वजेटमा सवै लैंगिक समुदायको सहभागिता र प्रतिफलमा हिस्सेदार बनोन् भनेर कार्यक्रमको आयोजना गरिएको दलित महिला केन्द्रले जनाएको छ ।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, दलित महिला सदस्यहरु, गाउँपालिकाका विषयगत शाखाका प्रमुख, वडा सचिवहरु लगाएतले पूर्वाधार विकास संगै सामाजिक विकासका कार्यक्रम तर्फ अझ विशेष ध्यान दिने बताएका थिए । कार्यक्रमको सञ्चालन दलित विकास समाज सल्यानका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले गरेका थिए ।।