Indrenionline.com

सल्यानमा धान र मकैको उत्पादन बढ्यो

सल्यान, ७ मंसिर । सल्यानमा यस वर्ष मुख्य खाद्यान्न उत्पादन बढेको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लाभर धान र मकैको उत्पादनमा वृद्धि भएको हो । कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा धान उत्पादन १ दशमलव २५ प्रतिशत र मकै उत्पादन १५ दशमलव ६६ प्रतिशतले बढेको छ ।

यस वर्ष जिल्लाभर १९ हजार ४० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा ६८ हजार ५४४ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यस वर्ष ७ हजार ७६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २९ हजार ७१९ मेट्रिक टन उत्पादन भएको छ । यस्तै ६ हेक्टर क्षेत्रफलमा गरिएको घैया धान १६ मेट्रिकटन उत्पादन भएको छ । गतवर्ष जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो, जसबाट २९ हजार ३९३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गतवर्षको तुलनामा बढी क्षेत्रफलमा धानखेती गरिनु, समयमै धान रोपिनु, हाइब्रिड जातको बीउको प्रयोग, सिँचाइको सुविधा लगायत कारण जिल्लाभर धान उत्पादन बढेको कार्यालयले बताएको छ ।

यसैगरी जिल्लामा यस वर्ष मकै उत्पादन पनि बढेको छ । जिल्लाभर १९ हजार २५ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा ५९ हजार २६१ मेट्रिक टन मकै उत्पादन भएको थियो । कोरोनाका कारण शहरबाट नागरिक गाउँ फर्किएर कृषि कार्यमा लाग्नु, तरकारीले प्रख्यात कपुरकोट क्षेत्रमा यस वर्ष बर्खे तरकारीको सट्टा मकै लगाइनु जस्ता कारण मकैको उत्पादन बढेको सूचना अधिकारी बस्नेतले बताए । अभियानबाट