जितेन्द्र बुढाथोकी
रुकुमकोट, २५ कार्तिक । रुकुम पूर्वका सासंदहरुले निर्माणाधिन रुकुमकोट चुन्वाङ सडकखण्डको अनुगमन गरेका छन् । सासंदहरु भौतिक पूर्वाधार विकास समिति सभापति आशा स्वर्णाकार, संविधानसभा सदस्य जुनकुमारी रोका र प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आज मंगलवार जिल्लाको सिस्ने गाउँपालिका ५ स्थित नमस्तेको टावरदेखि भुमे गाउँपालिका ८ मैहिबाङ होर्दिङसम्मको करिव ९ किलोमिटर निर्माणाधिन सडकको अनुगमन गरेका हुन् ।
प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाकै महत्वपूर्ण निर्माणाधिन सडकखण्डको अवस्था बुझन अनुगमन गरिएको लुम्बिनी प्रदेश भौतिक पूवार्धार विकास समिति सभापति आशा स्वर्णाकारले बताइन् । अनुगमनका क्रममा सिस्ने ५ स्थित नमस्तेको टावरदेखि होर्दिङ नजिकसम्मको सडकको अवस्था हेर्दा काम ठिकै गरेको पाइएको स्वर्णाकारको प्रतिक्रिया थियो । उनकाअनुसार नमस्तेको टावरदेखि महिबाङ गाउँ माथिसम्मको करिव ८ किलोमिटर सडकको ट्रयाक खोली सकिएको छ ।
प्रदेश सभा सदस्य तेजबहादुर ओलीले पनि समग्रमा अहिलेसम्मको काम सन्तोषजक रहेको बताए । ‘होदिङसम्मको सडकको गति ठिकै देखियो’, ओलीले भने, ‘अव उक्त सडकको जिरो पोइन्ट नजिक मैदान तिर थोरै विवाद छ त्यसैलाई मिलाउन बाँकी छ ।’
केही ढिला भएको उत्ता चुन्वाङ खण्डको पनि समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई तोकेता गर्ने र अटेरी गरे कार्वाहीको प्रकृया चाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको समेत ओलीले बताए ।