काठमाडौं, २४ कार्तिक । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध तिक्ततापूर्ण बन्दै गएपछि पूर्वएमालेका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । उनले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर करिब २ घण्टा छलफल गरे ।
‘हामीले पहिले पनि कार्यदलका तर्फबाट समस्या समाधान गर्न प्रयास गरेका नै हौं, त्यो पनि जहाँको त्यहीं भयो, पार्टी निर्णय मान्ने तत्परता देखिएन भन्यौं,’ स्थायी कमिटी सदस्य पाण्डेले भने, ‘प्रधानमन्त्रीले त्यो भन्दा गम्भीर कुरा त पार्टी फुटको डिलमा छ भन्नुभयो । तपाईंसँग समाधानको प्रस्ताव, योजना र सोच के छ भनेर सोध्दा त्यस्तो ठोस कुरा केही गर्नुभएन ।’
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार मात्रै प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गरेका थिए । ओलीले अध्यक्षद्वयको सहमतिमा महासचिवले बैठक बोलाउने परम्परा रहेको भन्दै कुनै दिन बोलाइने बताएका थिए ।
आइतबार नेपालसहितका नेताहरूले पनि पार्टीमा देखिएका सबै समस्याको हल बैठकबाटै हुने भन्दै क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताएका थिए । तर ओलीले छलफल हुने विषय र एजेन्डाबारे दुई अध्यक्षबीच सहमति भएपछि मात्रै बैठक बोलाउनुपर्ने जवाफ दिएको नेता पन्तले जानकारी दिए ।
ओलीले छलफलको अधिकांश समय नेताहरूकै बारेमा टिप्पणी गरेर बिताएका थिए । ‘त्यसपछि हामीले यस्ता ह्यानत्यान कुरा गरेर हुँदैन, अब पार्टी एकता बचाउने ठोस योजना के हो त्यो भन्नुस् भन्यौं,’ नेता पाण्डेले भने । ओलीले आफूलाई पार्टीकै नेताहरूबाट असहयोग भएको गुनासो गरेका थिए । प्रधानमन्त्रीले पार्टी संकटमा छ भनेपछि अरू नेताले कसको कारण पार्टी संकटमा परेको हो त भनेर सोधेका थिए । ‘पार्टीलाई फुट्न नदिने कुरामा साथ छ, तपाईं पार्टीको अध्यक्ष, तपार्इं पार्टीको प्रधानमन्त्री, पार्टी संकटमा आउँदा सबैभन्दा धेरै जिम्मेवारी पनि त तपाईंको होला, त्यो जिम्मेवारी तपाईंले अनुभव गर्नुपर्यो, पार्टी फुट्यो भने दोष मलाई आइलाग्छ भन्ने महसुस गर्नुपर्यो भन्यौं,’ स्थायी कमिटी सदस्य पन्तले कान्तिपुरसँग भने, ‘त्यसका लागि पार्टी बैठक बोलाउनुपर्यो, पार्टीका निर्णयहरू कार्यान्वयन गर्नुपर्यो, निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै जाऔं भनेका छौं ।’ कान्तिपुरबाट