काठमाडौं, २१ कार्तिक । सरकार सञ्चालन र पार्टीका गतिविधिका बारेमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बिहीवार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच ५ दिनपछि पुनः भेटवार्ता भएको हो ।
प्रचण्डले ओलीबाट अलग–अलग भएर जान प्रस्ताव आएको बताएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । बुधवार मात्रै प्रधानमन्त्री ओलीले आफू कुनै छलछामबाट नभई व्यापक जनसमर्थनमा पदमा पुगेको भन्दै वर्तमान परिस्थितिमा आपूmले राजीनामा दिनै नमिल्ने धारणा राख्नु भएको थियो । प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेकपाभित्र थप तरंग उत्पन्न भएको छ ।
बिहीवार पनि प्रचण्डले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सचिवालय बैठक गर्नुपर्ने बताएको तर ओलीले पहिला दुई अध्यक्षबीच सहमति नगरी पार्टी सचिवालयको बैठक राखेर मात्र नहुने अडान दोहोर्याएकाले वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको नेकपा नेताहरूले बताएका छन् । बिहीवार भेटको शुरूमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले राजीनामा नदिने भनेर बुधवार सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबारे जिज्ञासा राखेका थिए । त्यस्तै प्रदेश नम्बर १ का नेताहरूसँग भच्र्युअल भेला गरी ओलीले जबजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि भेटमा प्रचण्डले आपत्ति व्यक्त गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विभिन्न कोणबाट फेरि षड्यन्त्र शुरू भएको भन्दै जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार रहन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले सरकारले ठूलो संकटको सामना गरिरहेको भन्दै आफूलाई सहयोग गर्न मन्त्रीहरूलाई आग्रह गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । पार्टी विवाद उत्कर्षमा पुगेको समयमा ओलीले त्यो बेला मन्त्रीहरूलाई आफूलाई सहयोग गर्ने वा नगर्ने कित्ता स्पष्ट पार्न भनेका थिए ।
यता प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताइरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले बिहीवार कानूनविद्हरूसँग छलफल गरेका छन् । पार्टीभित्र शक्ति संघर्ष चर्किरहेका बेला प्रचण्ड–नेपालले वरिष्ठ कानूनविद्सँग पेरिसडाँडामा छलफल गरेका हुन् आर्थिक अभियानमा खबर छ। छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य रघुजी पन्त, मात्रिका यादव, नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी समिति सदस्य देव गुरुङ, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित पाँचजना सहभागी थिए ।