इन्द्रेणी संवाददाता
काठमाडौं, २० कार्तिक । कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने भएको छ । कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट अनलाइनबाट पनि दिन सक्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । यसका लागि गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकेको उनले बताए ।
मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गर्नुभएको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ ।
बोर्डले विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको समाचार पहिलो पटक गत भदौ ३१ मा राससले सम्प्रेषण गरेको थियो । परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ ।