विराटनगर, २० कार्तिक । भारतको असाम राज्यमा यसपटक अलैंचीको उत्पादन घटेपछि भारतीय व्यापारीहरूले नेपालमा खरीद केन्द्र (गद्धी) खोल्न थालेका छन् । ती व्यापारीले झापाको बिर्तामोडमा गद्धी खालेकाले यसपालि नेपाली अलैंचीले गतवर्षको भन्दा राम्रो मूल्य पाउने अपेक्षा किसानहरूले गरेका छन् ।
गतवर्ष २० हजार प्रतिमन रहेको अलैंचीको मूल्य यस सिजनको शुरुआतमै २५ हजार पुगेपछि किसानहरू उत्साहित बनेका हुन् । नेपालका किसानहरूले अलैंचीको टे«डमार्क पाएपछि अहिले ‘एभरेस्ट विग कार्डामाम’ का नामले अलैंची निकासी हुन थालेको छ ।
सरकारले २०७३ साल असार १९ गते अन्तरराष्ट्रिय बजारमा निर्यातगर्दा नेपालकै नाममा निर्यात होस् भन्ने उद्देश्यले अलैंचीको ट्रेडमार्क बनाएको थियो । त्यसको ४ वर्षपछि पाकिस्तानले यस वर्षबाट नेपालीे ब्रान्डलाई स्वीकृति दिएको छ । तर, स्थलमार्गबाट अलैंची पठाउन भारत हुँदै पठाउनुपर्छ । भारत र पाकिस्तानको व्यापारिक सम्बन्धमा आएको तनावले त्यो सम्भव छैन । जसका कारण पाकिस्तानले ट्रेडमार्क स्वीकृति दिएर पनि नेपालले फाइदा लिन सकेको छैन । एयर कार्गोबाट पठाउँदा अलैंची महँगो पर्ने अध्यक्ष कार्कीले बताए ।
भारतले नेपालबाट भारत निकासी भएर जाने अलैंची र सुकुमेललाई भारतीय ५ सय रुपया बजार मूल्य तोकेपछि नेपाली व्यवसायीहरूले ३ सय रुपैयाँको अतिरिक्त जीएसटी भारतीय भन्सारलाई तिर्नु परिरहेको छ । सुकुमेल ४ हजार रुपैयाँ किलो पर्ने र अलैंची ५ सय रुपैयाँ पर्ने भए पनि भारतीय भन्सारले दुवैको मूल्यांकन किलोको ५ सय भारू तोकिदिएपछि व्यवसायीले अतिरिक्त रकम बुझाउनु पर्दा लागत बढ्न गएको अध्यक्ष कार्कीको भनाइ छ । उनले भने, ‘पटकपटक वाणिज्य मन्त्रालयलाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएन ।’
नेपालमा वर्षेनि ६ हजार मेट्रिक टन अलैंची उत्पादन हुँदै आएको छ । बन्दाबन्दीका कारण किसानहरूले फुर्सद पाएका र मौसमले समेत साथ दिएकाले यो वर्ष अलैंची उत्पादनमा सकारात्मक सुधार आउने पा“चथर उद्योग वाणिज्य संघका अध्यक्ष तथा अलैंची व्यवसायी दीपक नेपालले बताए ।
अलैंची अति आवश्यक उपभोग्य वस्तुभित्र नपर्ने भएकाले कोरोना महामारीका कारण यसको बजार केही खुम्चिएको उनले बताए । तर, पछिल्लो समय उत्पादनमा आएको सुधार र भारत निकासीमा कुनै अवरोध नभएकाले किसान उत्साहित भएको उनले उल्लेख गरे अभियानमा खबर छ। अहिले अलैंची प्रतिमन २२ देखि २५ हजार रुपैयाँ सम्ममा किनबेच भइरहेको उनले बताए ।