इन्द्रेणी संवाददाता
दाङ, १९ कार्तिक । पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महाराकी धर्मपत्नी सीता महराको निधन भएको छ ।
दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र सास फेर्न समस्या भएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।
वि.स. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।
सीताको निधनबाट सभामुख सापकोटा मर्माहत
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।
बुधवार एक विज्ञप्ति जारी गर्दै उनले महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।