ज्ञानु गौतम
रुकुम (पश्चिम), १५ कार्तिक । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १० खोलागाउँमा सहिद स्मृति नगर अस्पताल सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकाको ११ लाख ५० हजार र कर्णाली प्रदेशको पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत ६९ लाख ५० हजार गरी करीव ८१ लाखको लागतमा उक्त अस्पताल निर्माण गरिएको हो ।
प्रारम्भिक चरणमा पाँच शैयाबाट स्वास्थ्य सेवा सुचारु गरेको नगर अस्पतालबाट ओपिडी सेवा, आकस्मिक सेवा, प्रसुती सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवा सञ्चालनमा आएका छन् । अस्पताल सञ्चालमा आएपछि नगरपालिकाका वडा नं. १०, ११, १२, १३ र १४ को स्थानीयले प्रत्यक्ष रुपमा स्वास्थ्य सुविधा पुग्ने छ । अस्पताल निर्माणका लागि स्थानीय टेकबहादुर बुढाथोकी र ममी बुढाथोकीले छोरी ललिताको स्मृतिमा ५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । यसअघि यस क्षेत्रमा यसप्रकारको अस्पताल नहुँना चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचारका लागि जानुपर्ने वाध्यता थियो ।