Indrenionline.com

एघार दिनपछि ओली र प्रचण्ड भेटवार्ता

काठमाडौं, १५ कार्तिक । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले पटक पटक बोलाउँदा पनि बालुवाटार नगएका कार्यवाहक अध्यक्ष प्रचण्ड शनिवार दिउँसो बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

अहिले दुई अध्यक्षबीच छलफल भइरहेको पनि सापकोटाले बताएका छन् । सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टीभित्र छलफल गर्ने सहमती भए पनि प्रधानमन्त्री ओलीले एकलौटी निर्णय र नियुक्तिलाई निरन्तरता दिएपछि प्रचण्डले असन्तुष्टि जनाउँदै आएका छन् ।

अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायतका दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आएका थिए । प्रचण्डले ओलीलाई भेटन जानुभन्दा पहिले बरिष्ठ नेता माधव नेपाललाई समेत भेटेका थिए ।