तुलसीपुर २० असार । तुलसीपुर नगरपालिकाले आर्थिक वर्ष ०७२ र ०७३ मा २ करोड २७ लाख ९५ हजार राजश्व संकलन गरेको छ । गत वर्षको तुलनामा १४ लाख ६२ हजार वढी संकलन भएको नगरपालिका राजश्व शाखाकी यशुदा वलीले राप्ती समाचारलाई जानकारी दिइन । आर्थिक वर्ष ०७२र ०७३ मा नगरपालिकाले लिएको लक्ष्य भन्दा ५२ लाख ९५ हजार वढि राजश्व संकलन भएको वलीले बताईन ।
साविकको नगरपालिकाको आन्तरिक आएलाई मुल्याङकन गरी १ करोड ७५ लाखको लक्ष्य निर्धारण गरिएको भएपनि ०७२ मसिंरमा तुलसीपुर नगरपालिकाको क्षेत्रविस्तार भएपछि राजश्व वढेको सूचना अधिकारीले खरेलले बताए ।
साविक तीन वटा गाविसहरु हलवार, टरिगाउँ र उरहरी क्षेत्रविस्तार संगै तुलसीपुर नगरपालिकामा गाभिएका हुन । सिमाना जुटेका तीन गाविसलाई नगरपालिकामा समावेश गर्दा एकीकृत सम्पत्ति करसंगै विभिन्न शिर्षकमा राजश्व लक्ष्यभन्दा धेरै संकलन भएको कार्यालयकी नायव सुब्बा यशुदा वलीले जानकारी दिइन । अझै असार मसान्त सम्म राजश्व संकलन थप ८ लाख सम्म वढन सक्ने उनले अनुमान गरिन ।
तुलसीपुर नगरपालिकाले एकीकृत सम्पत्तिकर तर्फ ५३ लाख ५६ हजार ६ सय ३० र राजश्व तर्फ १ करोड ७४ लाख ३८ हजार ६ सय २५ गरि २ करोड २७ लाख ९५ हजार राजश्व संकलन गरेको वलीले राप्ती समाचारलाई जानकारी दिइन । नगरपालीकाले मालपोत तथा भूमि कर, वहाल कर, वहाल विटौली कर, सवारी कर,एकीकृत सम्पत्ति कर,मनोरञ्जन कर, विज्ञापन,अमिन सेवा सुल्क, संरचना मर्मत शुल्क सम्पत्ति मूल्यांकन कर लगाएतका विभिन्न २र्४ शिर्षकमा राजश्व संकलन गर्दै आएको छ ।