काठमाडौं, १५ कार्तिक । कोरोना महामारीका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्ने भएको छ ।
जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तीमा दुई÷दुई मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी रहने व्यवस्था मिलाई, स्थानीय तह, स्वास्थ्य सङ्घ, संस्थासँग आवश्यक समन्वय गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था बोर्डले मिलाएको छ ।
परीक्षा केन्द्रमा हेल्थडेस्कको समेत स्थापना गर्न बोर्डले जारी गरेको परीक्षासम्बन्धी कार्यविधिमा उल्लेख गरिएको छ । बोर्डले विद्यार्थीलाई कोभिड–१९ को सङ्क्रमणको शङ्का भएका अलग्गै कोठामा राखी परीक्षा लिने व्यवस्था गर्न निर्देश गरेको छ ।
मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । यस पटकको कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै, कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।
एक बेञ्च, एक विद्यार्थी
राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।
विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सामग्री उपलब्ध गराउने र स्वास्थ्यका मापदण्डलाई पालना गर्दै परीक्षा लिइने जनाइएको छ । विद्यार्थीका साथै परीक्षामा परिचालन भएका शिक्षक जोखिममा पर्न सक्ने भएकोले त्यसमा समेत विचार पु¥याउनुपर्ने अवस्था रहेको जनाइएको छ ।