वाशिङटन डीसी, ५ कार्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चिनियाँ बैंकमा खाता रहेको खुलासा भएको छ । न्युयोर्क टाइम्सले छापेको समाचारलाई उद्धृत गर्दै बुधवार बीबीसीले उक्त समाचार छापेको छ ।
सन् २०१३ र सन् २०१५ को बीचमा खाताबाट स्थानीय कर पनि बुझाइएको छ । ट्रम्पले अमेरिकामा सन् २०१६ र २०१७ को बीचमा ७५० डलर मात्रै संघीय कर बुझाएको भन्दै आलोचना भएको केही समय नबित्दै यो खबर सार्वजनिक भएको हो ।
चीनमा भने सो बैंक खाताबाट ट्रम्पले १ लाख ८८ हजार ५६१ डलर कर तिरेका छन् । स्थानीय करको प्रक्रिया हुने भएकाले चिनियाँ बैंकमा खाता खोलिएको ट्रम्पका कम्पनीका वकिल एलन गार्टनले बताएका छन् । समाचारअनुसार ट्रम्पको चीन बाहेक आयरल्याण्ड र बेलायतमा पनि बैंक खाता छ । एजेन्सी