काठमाडौं, ५ कार्तिक । स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर पार्टीभित्र मतभेद सिर्जना भएकै वेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समीकरणको प्रस्ताव गरेका छन् ।
केपी ओली, प्रधानमन्त्री : लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईं पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ । छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ ।
माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा : तपाईं जथाभावी राजनीतिक र अन्य नियुक्तिहरू गर्नुहुन्छ । पार्टीभित्र मापदण्ड लागू गर्नुहुन्न, वरिष्ठता, योग्यता र क्षमताको अवमूल्यन गर्दै अन्याय गर्नुहुन्छ, अनि सहयोग र समर्थन गर्ने कुरा हुन्छ रु सबै समस्याको जड तपाईं नै हो, धेरै समस्या तपाईंबाटै खडा भएका छन् । पहिले आफ्नो कार्यशैली सच्याउनुस्, अनि मेरो सहयोग रहन्छ ।
युद्धविराम’को तहमा रहेको नेकपाभित्रको विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले बल्झिने संकेत देखिएका वेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई मंगलबार भेटेर सम्बन्ध सुधार र सहकार्यको प्रस्ताव गरेका हुन् । ओली–नेपालबीच करिब तीन महिनापछि प्रधानमन्त्रीनिवास बालुवाटारमा अढाई घन्टा लामो छलफल भएको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला गत ९ साउनको राति भएको छलफलयता उनीहरूबीच एक्लाएक्लै छलफल भएको थिएन ।
कर्णाली प्रदेशको विवाद समाधानबारे कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफललगत्तै ओली आफैँले टेलिफोन गरेर संवादका लागि नेपाललाई बालुवाटार बोलाएका थिए । भेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्मका अविश्वास हट्ने गरी मिलेर अघि बढ्ने गरी सम्बन्ध सुधारको प्रस्ताव गर्दै सरकारलाई सहयोग गर्न नेपाललाई आग्रह गरेका थिए । नेपालले भने पार्टी र सरकारलाई संस्थागत निर्णयको स्पिरिटका आधारमा सञ्चालन गर्नेबित्तिकै स्वतस्फुर्त विश्वासको वातावरण बन्ने जवाफ फर्काएका छन् ।
‘लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईं पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ,’ ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ ।’ सामान्यतः नेकपामा प्रचण्ड र नेपालबीच विभिन्न मुद्दामा सहकार्य हुँदै आएको छ । ओलीले सहकार्यको प्रस्ताव गरेर प्रचण्ड–नेपाल सहकार्य तोड्ने कोसिस गरेका छन् । नयाँ पत्रिकाबाट