तनहुँ, २० असोज । दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको छ । तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।
बैठकले प्रत्येक पालिकामा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न पालिकालाई अनुरोध गरेको छ । व्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए ।
उनका अनुसार आइसोलेशनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ । रासस