रुपन्देही, १९ असोज । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किनुभएका मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो ।
प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने निर्णयको विरोध गर्दै आइतबार नेपाली कांग्रेसले बुटवलमा बन्दको घोषणा गरेको थियो । बुटवलबाट प्रदेश राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि नेपाली कांग्रेससहित स्थानीयले प्रदर्शन गरिरहेका छन् ।
नेकपाको जिल्ला कमिटीले प्रदेश सार्ने कुराको विरोध गरेपछि नेकपाका नेता कार्यकर्ता पनि विरोधमा निस्किएका छन् । प्रदेश राजधानी तथा नामको प्रस्ताव पारित गर्ने प्रक्रियाका लागि सोमबार प्रदेश सभा बैठक बस्दैछ ।
