सल्यान, १९ असोज । सल्यानको बाफुखोलाका किसानले आलुखेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । आलुखेती गरेरै जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानले वार्षिक करोडौं रकम भित्र्याउँदै आएका हुन् । आलुखेती गरेर बाफुखोलामा यस वर्ष एक घरले न्यूनतम १ लाखदेखि ७ लाखसम्म आम्दानी गरेका छन् ।
२०४८ सालबाट बाफुखोलामा आलुखेती शुरू भएको किसानहरू बताउँछन् । बाफुखोलाका करीब ५ सय घरधुरीले व्यावसायिक रूपमा आलुखेती गर्दै आएका छन् । स्थानीय केशव वलीले आलुखेतीबाटै जीवन निर्वाह गर्दै आएको बताए । उनले यस वर्ष ४ लाखभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिए ।
लकडाउनका कारण भारतीय तरकारी आयात नभएकाले यस वर्ष स्थानीय उत्पादनले राम्रो बजार पाएको बागचौर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष दीपक वलीले जानकारी दिए । उनले यस वर्ष बाफुखोलाबाट रू। १६ करोडभन्दा बढीको आलु निर्यात भएको बताए । ‘विगतका वर्षमा बाफुखोलामा प्रतिकिलो आलु ४५ रुपैयाँ विक्री हुने गर्दथ्यो, यस वर्ष ५५ रुपैयाँ प्रतिकिलोमा आलु विक्री भएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण भारत लगायत बाहिरको तरकारी आयात नहुँदा स्थानीय उत्पादनले राम्रो बजार पाएको हो,’ उनले भने, ‘आलु विक्रीमा कुनै समस्या भएन, खरीदका लागि व्यापारीहरू गाउँमै आए ।’
राप्तीलोक मार्गको खरीबोट हँुदै कोटवारा बाफुखोला र सल्यान–रुकुम सीमाना खौला हँुदै बाफुखोलासम्म सडक निर्माण भएकाले आलु निर्यातमा समस्या नभएको उनको भनाइ छ । बाफुखोलाको आलुलाई सहज रूपमा निर्यात गर्न कृषि विकास कार्यालय सल्यानले गत आर्थिक वर्ष २०७६र७७ मा स्थानीय सडकको ग्राभेल गरेको थियो ।
कर्णाली प्रदेश सरकारको कृषि मन्त्रालय अन्तर्गतको रू। २३ लाख बजेटबाट बाफुखोला हुँदै खोला जाड्ने सडकको करीब २ किमीभन्दा बढी नाली सहित ग्राभेल गरिएको कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए । किसानले उत्पादन गरेको बर्खे आलुलाई सहजै रूपमा निर्यात गर्न कृषि सडकको ग्राभेल गरिएको र यस वर्ष किसानलाई आलु निकासी गर्न कुनै समस्या नभएको उनको भनाइ छ ।
यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगायत शहरमा जाने गर्दछ अभियानमा खबर छ। बाफुखोलाका ८० प्रतिशत स्थानीयले आलुखेती गर्ने गरेको भए पनि आलुको अनुसन्धान केन्द्र र चिस्यान केन्द्र स्थापना नहुँदा समस्या हुुने गरेको किसानको गुनासो छ ।