Indrenionline.com

परपुरुषसँग प्रेमसम्बन्ध राखेको आरोपमा महिलामाथि अमानवीय व्यवहार

हुम्ला, १७ असोज । परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ ।

परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई निर्घात कुटपिट गरिएको छ  नयाँ पत्रिकामा खबर छ।

शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर कुटपिट गरे ।’

गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आप्mनो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन् ।