सुर्खेत, १२ असोज । कर्णाली प्रदेशबाट सवारीचालक अनुमतिपत्र वितरण शुरू भएको छ ।
सवारीचालक अनुमतिपत्र वितरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय अन्य कार्यालय भन्दा निकै संवेदनशील रहेको बताए । कुनै पनि काममा नागरिकलाई खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रूपान्तरण नहुने उनको भनाइ थियो । सेवामा ढिलासुस्ती हुन नदिन सुर्खेतमै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्थाका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको समेत उनले बताए ।
यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख आनन्द चपाईले माघदेखि सेवा शुरू गरिए पनि छपाइ गर्न काठमाडौं पठाउनुपर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको बताए । उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजस्व संकलन भएको छ ।