Indrenionline.com

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, ९ असोज। नेपालमा आज शुक्रवार थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १३१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । प्रवक्ता गौतमका अनुसार वितेको २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोनाबाट मर्नेको संख्या ४५९ पुगको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेशनमा ८ हजार २३७ जना छन् भने हाल १८ हजार २८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।विगत २४ घण्टामा १२ हजार ९६२ ओटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा ६ हजार ५६४ जना रहेका छन् । त्यसैगरी होम आईसोलेशनमा १० हजार ५२ जना छन् ।

हालसम्म कुल पीसीआर परीक्षणको संख्या ९ लाख ६८ हजार १८५ पुगेको छ । त्यसैगरी हाल भेन्टिलेटरमा ३९ जना संक्रमितले उपचार गराइरहेका छन् । यस्तै आईसीयूमा २२७ जना संक्रमितको उपचार भइरहेको छ । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।