Indrenionline.com

स्याङ्जा पहिरोमा परी दश जनाको मृत्यु

इन्द्रेणी संवाददाता
स्याङ्जा, ८ असोज। स्याङ्जा वालिङ नगरपालिका वडा नंं १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षासगै आएको पहिरोले पुरिएर १० जनाको ज्यान गएको छ ।

आज आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो ।
पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दिपक नेपाली, ६० बर्षिय सोनी नेपाली, नौ बर्षिय बिबश नेपाली, १९ बर्षिय विनिदा नेपाली, २१ बर्षिय कुलदीप नेपाली, १४ बर्षिय बिक्रम नेपाली र छ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिए ।

घरका सबैको मृत्यु हुदाँ १६ बर्षिय मनिषा नेपालीलाई जिवीतै उद्धार गरिएको हो । घाइते मनिषाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको बताउदै अधिकारीले घाइतेको अवस्था गम्भिर रहेको बताए ।

वर्षासगै आएको पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा १७ बर्षिय विष्णु परियार निधन भएको अधिकारीले बताए । घरमा सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले परियारलाई पुरेको हो भने अघरका अन्यको अवस्था भने सामान्य छ ।