काठमाडौंं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
“यही अहिलेको स्थितिमा हामी छठपछि परीक्षा लिने तयारीमा छौँ”, उनले भने, “स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि के गर्ने भन्ने हुन्छ, होइन भने छठपछि सबै परीक्षा हुन्छन् ।” पनिकाले आजै नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गर्ने उनले जानकारी दिए।
त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्नेछ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिनेछन् । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।
“हामीले सबै सम्बन्धित कार्यालयलाई छठलगत्तै परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेका छौ”, उनले भने, “अब चाँडै नै परीक्षाको सञ्चालनको तयारीमा ती कार्यालय जुट्नेछन् । भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ ।” त्रिविले अहिले पनि न्यूनसङ्ख्या भएका परीक्षा सञ्चालन गरिरहेको छ । उनले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अन्य परीक्षा सञ्चालन गरिने बताए ।
यसैगरी त्रिविले सेमेष्टरको भर्चुअल परीक्षा गर्नेबारे छलफल गरे पनि अब नगर्ने भएको छ । परीक्षा नियन्त्रक जोशीले केही डिन कार्यालयले सेमेष्टर प्रणाली परीक्षा भर्चुअल गर्ने भने पनि अब विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा गर्ने भएको जानकारी दिए । कोभिड–१९ का कारणले केही विश्वविद्यालयले खुला किताब (ओपन बुक) गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् । रासस