Indrenionline.com

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

इन्द्रेणी संवाददाता
काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् ।

एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितिले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग गर्‍यौँ, त्यो महत्त्वपूर्ण कुरा होु, प्रधानमन्त्री ओलीले भने, ‘गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिलकुल मानवीय भावनाले आफूले सक्दो सहयोग गर्नुपर्छ ।’

उनले समाजमा गरिबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामर्थ्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्त्वपूर्ण भएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन परिषद्ले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरे भन्ने गुनासो बढेकाले पञ्चायतकालीन ऐनलाई विघटन गर्दै एकीकृत ऐन ल्याउने तयारी भएको जानकारी दिए । रासस