इन्द्रेणी संवाददाता
काठमाडौं, ३ असोज । आज संविधान घोषणा भएको दिन अर्थात संविधान दिवस । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरका राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व कायमै रहेको बताएकी छन् ।
संविधान दिवसले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमुलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
२८९ कैदीबन्दीको कैद माफी मिनाहा
राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा दिएकी छन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको हो ।