Indrenionline.com

बजारमा नक्कली र घातक स्यानिटाइजरको विगविगी, यी हुन् नौ घातक स्यानिटाइजर

इन्द्रेणी संवाददाता
दाङ, १ असोज । देशमा कोरोना संक्रमणको जोखिम बढेसँगै संक्रमणबाट वच्नाका लागि तपाइँ हामीले विभिन्न उपायाहरु अपनाउने गरेका छौं । विभिन्न उपायाहरुमध्ये हामीले अपनाएको एउटा उपाया हो स्यानिटाइजरको प्रयोग । स्यानिटाइजर त हामीले प्रयोग गरेका छौं तर हामीले कस्ता खालका स्यानिटाइजर प्रयोग गरिरहेका छौं त्यो हामी धेरैलाई हेक्का छैन ।

पछिल्लो समयमा बजारमा नक्कली, स्वास्थ्य मापदण्ड नपुगेका र मानवस्वास्थ्यलाई हानी गर्ने प्रकारका स्यानिटाइजरको विगविगी बढेको छ । नक्कली स्यानिटाइजर र मापदण्ड नपुगेका स्यानिटाइजरले हामीले जुट उद्देश्यले प्रयोग गरिरहेका छौं त्यो काम गर्दैनन् भने केही स्यानिटाइजर यस्ता पनि छन् कि मानव स्वास्थ्यमा नराम्रो असर पु¥याउने खालका छन् ।

केही समयको अनुगमन पछि औषधि व्यवस्था विभागले गुणस्तरहीन विभिन्न नौ ओटा उद्योगका स्यानिटाइटर प्रयोग गर्नमा समेत प्रतिबन्ध लगाएको छ । मान्छेको ज्यानै लिन सक्ने मिथानोल पदार्थ मिसाएका स्यानिटाइजर बिक्री वितरण भएको पाइएको भन्दै विभागले उपभोक्तालाई सचेत हुन पनि आग्रह गरेको छ । यस्ता विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नभएका स्यानिटाइजर प्रयोग नगर्न विभागका महानिर्देशक नारायण ढकालले आग्रह गरे ।

उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्र्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उनले आग्रह गरेका छन् । मापदण्डअनुसार स्यानिटाइजर उत्पादन गर्ने नौ ओटा कम्पनीलाई विभागले स्यानिजाइजर उत्पादनमा समेत प्रतिबन्ध लगाएको छ ।

विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजर उद्योगहरु

१. चिनियाँ कम्पनीले उत्पादन गरेको ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसन ।
२. सम्पदा हेल्थ केयर ललितपुरबाट उत्पादित सासा इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ।
३. आरएल क्रप भारतले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ।
४. श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री काठमाडौँले उत्पादन गरेको युनिकेयर इन्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ।
५. भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ।
६. हाइजिन सोप एन्ड केमिकल प्राली काठमाण्डौको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल ।
७. आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर ।
८. सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल ।
९. सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर ।