इन्द्रेणी संवाददाता
कठमाडौं, १ असोज । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।
विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।
बोर्डका कक्षा ११ र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अन्य विकल्प सम्भव नभएमा यस विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जानकारी दिए । अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आफू रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन् । परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ ।
गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कुल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ मा परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ । रासस