Indrenionline.com

आफू बसोबास गरेको जिल्लाबाटै परीक्षा दिन पाइने, कक्षा १२ का विद्यार्थी खोज्दै राष्ट्रिय परीक्षा बोर्ड

इन्द्रेणी संवाददाता
काठमाडौं, २८ भदौ । गत वैशाखमा परीक्षा स्थगित भएपछि परीक्षा हुन्छ कि हुँदैन भनेर आन्यौलमा परेका कक्षा १२ का विद्यार्थीहरुले आफू बसोबास गरेकै जिल्लाबाट परीक्षा दिन पाउने भएका छन् ।

कोरोनाका कारण घर फर्किएका विद्यार्थीहरुले आफू बसोबास गरिरहेको जिल्लाको सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो ।

कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्र्थी गाउँघर पुुगेकोले घर पायकको विकल्पको खोजी गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको समेत उनले जानकारी दिए ।

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्र्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ (जिल्ला) भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ ।

यसबाट कुन विद्यार्थी कुन जिल्ला, नगर या वडामा बसोबास गरेको छ भन्नेसम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने बोर्डले जनाएको छ । बोर्डले सम्बन्धित विद्यालयहरुलाई कुन विद्यार्थी कहाँ छ भनेर विवरण पठाउनका लागि सूचना समेत जारी गरिसकेको छ ।