Indrenionline.com

लकडाउनमा गलेका उद्योग निषेधाज्ञाले थलिए

वीरगञ्ज, २८ भदौ । ४ महीना लामो बन्दाबन्दीमा जसोतसो चलेका बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग डेढमहीने निषेधाज्ञाले थलिएका छन् । पछिल्लो समय कोरोनाको बढ्दो संक्रमण र नियन्त्रणमा प्रशासनले कडाइ गरेपछि अधिकांश उद्योगको उत्पादन स्वात्तै घटेको छ ।

असारको अन्तिम साता वीरगञ्जमा लक्षणसहितका संक्रमित देखिन थालेसँगै उच्च सतर्कता अपनाइएको हो । साउन १० देखि वीरगञ्ज र आसपासका क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । लगत्तै छिमेकी बारा जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश गरेपछि कोरिडोरमा उत्पादन प्रभावित भएको हो ।

पछिल्लो समयमा कोरोना संक्रमणको त्रास र प्रशासनको नियन्त्रण दुवै बढेकाले उत्पादन नराम्ररी प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए । ‘बन्दाबन्दीमा कोरोना संक्रमण देखिए पनि प्राणघातक नभएकाले उतिसारो त्रास थिएन । प्रशासनले पनि उत्पादन र आवागमनलाई सीमितमात्र नियन्त्रण गरेको थियो,’ गुप्ताले भने, ‘डेढ महीनादेखि उद्योग सञ्चालनको मापदण्डमा कडाइ गरियो । यसले उत्पादन र बजारीकरण पूरै प्रभावित हुन पुग्यो ।’

लक्षणसहितको संक्रमण र यसबाट ज्यानै जान थालेपछि उद्यमी र कामदारमा त्रास फैलिएकाले पनि उत्पादन घटेको नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताको भनाइ छ । ‘उद्योगी नै उद्योगमा आउजाउ गर्न डराएका छन् । कामदार र कर्मचारीको मनोदशा पनि उस्तै छ,’ उनले भने ।

यसअघि चैत ११ मा बन्दाबन्दी घोषणा गरेको सरकारले १ साता पनि नबित्दै चैत १६ मा अत्यावश्यकीय उत्पादन र सेवा सञ्चालनको अनुमति दिएको थियो । मापदण्ड बनाएर चैत २६ देखि अन्य उद्योग चलाउन भनिएको थियो । लक्षण नभएका संक्रमितमात्र भेटिएकाले उद्योगमा मापदण्ड पालनामा त्यतिसारो निगरानी नराखिएकोमा अहिले प्रशासनले कडाइ गरेपछि अधिकांश उद्योगको उत्पादन खुम्चिएको उद्यमीहरू बताउँछन् ।

बारा र पर्सा प्रशासनले उद्योगमै क्वारेन्टाइनको व्यवस्था मिलाएर उद्योग चलाउनुपर्ने, संक्रमण देखिएमा उद्योगले नै आइसोलेशनमा राख्नुपर्नेलगायत मापदण्डमा कडाइ गरेपछि कतिपय उद्योगले उत्पादन नै बन्द गरेका छन् । यही मापदण्डका कारण कोरिडोरका औषधि उद्याग १ साताभन्दा बढी बन्द भएका थिए ।

अहिले सवारी आवागमनको अनुमति दिएकाले औषधि उद्योगको उत्पादन सुचारू भएको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए । बन्दाबन्दीमा क्षमताको ३५र४० प्रतिशतमा चलेका उद्योग बन्दाबन्दी हटेसँगै ८० प्रतिशतसम्म पुगेका थिए । अहिले यो क्षेत्रका उद्योगले क्षमताको २० प्रतिशत हाराहारीमा उत्पादन गरिरहेको दाबी गुप्ताको छ ।

निषेधाज्ञायता बजारबाट माग नै आउन छोडेको उद्योगी राजेश क्याल बताउँछन् । ‘बन्दाबन्दीमा समेत बजारमा यस्तो मन्दी थिएन । बन्दाबन्दी हटिसकेपछि सामान्य हुन थालेको बजार निषेधाज्ञाले फेरि सुक्यो,’ क्यालले भने । माग नभएकाले पनि उत्पादन घटाएको उद्योगीको भनाइ छ ।

बारा–पर्सा कोरिडोरका उद्योगको मुख्य बजार काठमाडौं उपत्यका हो । बन्दाबन्दीमा उपत्यकाबाट बाहिरिएकाहरू पनि खुकुलो भएसँगै फर्किएपछि माग बढ्न थालेकोमा निषेधाज्ञाले प्रायः ठप्प भएको उद्योगी क्यालको अनुभव छ । भदौ ३ देखि उपत्यकामा लगाइएको निषेधाज्ञा गत बिहीवारदेखि खुकुलो बनाइएको छ अभियानमा खबर छ।

बजारबाट माग आउन छोडेपछि कतिपय उद्योगले सीमित परिमाणमा भएको उत्पादन समेत गोदाममा थन्क्याएका छन् । ‘सामान्य खर्च उठाउन पनि उद्योग चलाउनै प¥यो । बजारमा उधारो दिँदा भुक्तानी आउँदैन,’ उद्योगी विश्वामित्र कलवारले भने, ‘भुक्तानी नउठ्दा उद्योगले सञ्चालन पूँजीको अभाव सामना गरिरहेका छन् ।’